१५ चैत्र २०८०, बिहीबार

पाँच पटक सूचना टाँस गर्दै स्थगित गरिएको प्रतिनिधि सभाको चालु अधिवेशनमा एमसीसी टेबल होला त ?

Agni sapkota
फाइल फोटो

पाँच पटक सूचना टाँस गर्दै स्थगित गरिएको प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ । अमेरिकी समयसीमा फागुन १६ रहँदा चालु अधिवेशनमा एमसीसी टेबल गर्ने सरकारको योजना छ । तर, दलीय सहमतिबिना सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्न दिइहाल्ने अवस्था छैन ।

प्रतिनिधिसभाको पछिल्लो बैठक पुस ७ गते बसेको थियो । त्यसपछि १८ गते बैठक बस्ने भनेर संसद सचिवालयले सूचना जारी गर्‍यो । १८ गतेयता ५ पटक संसद बैठक बस्ने भन्दै सूचना जारी भएपनि निरन्तर स्थगित गरियो ।

अब बस्ने संसद बैठकमा बहुचर्चित एमसीसी प्रस्ताव टेबल हुन्छ कि हुँदैन भन्नेमा दलहरुबीच विवाद रहँदै आएको छ । दलहरु सहमत नभएसम्म अघि नबढाउने सभामुख सापकोटाको भित्री चाहनाले पनि संसद बैठक स्थगित गरिँदै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि संसद बैठकमा एमसीसी अघि बढाउन चाहनुहुन्छ । तर, त्यो त्यति सजिलो छैन । बुधबार बोलाइएको बैठकको कार्यसूचीमा एमसीसी राखिएको छैन । सम्भावित कार्यसूचीमा थारु आयोगको प्रतिवेदन र शोक प्रस्ताव मात्र छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले भने एमसीसी टेबल गर्ने सरकारको प्रयास हुन सक्ने अनुमान गरेको छ ।

संसद अवरुद्ध पार्दै आएको एमालेले १४ सांसदको बर्खास्तगीलाई शर्तका रुपमा अघि सारेको छ । बुधबार पनि बैठक सहजै सञ्चालन गर्न एमालेले नदिन सक्छ । यसले प्रधानमन्त्री देउवाको चाहना पूरा नहुन सक्छ । तर, बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीको एजेण्डा पेश हुन सक्छ ।

एमसीसी टेबलका लागि सभामुख सापकोटाको मुख्य भूमिका रहन्छ । एमसीसीको विषयमा माओवादी केन्द्र संशोधनबिना पास हुन नसक्ने अडानमै छ ।

यसरी हेर्दा बुधबार नै संसदमा एमसीसी टेबल हुने सम्भावना देखिँदैन । संसदको १० औ अधिवेशनबाट एमसीसी जसरी पनि पारित गराउने प्रधानमन्त्री देउवाको रणनीति छ । तर सत्ता गठबन्धनका माओवादी र एकीकृत समाजवादीको परिमार्जनबिना एमसीसी पास हुन नदिने अडानका कारण गठबन्धनभित्र खटपट आउने सम्भवना बढेको छ ।