१३ बैशाख २०८१, बिहीबार

पूरा होला नेपालको विश्वकपमा पुग्ने लक्ष्य ?

cricet team
फाइल फोटो

सन् २०१४ मा बंगलादेशमा भएको संस्करणमा ऐतिहासिक प्रदर्शन गरेपछि आठ वर्षको अन्तरालमा नेपाली क्रिकेट टिम र खेल्ने शैलीमा व्यापक परिवर्तन भएको छ । दोस्रो पटक नेपाली क्रिकेट टिम सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायेकेको काँधमा भने फेरी पनि विश्वकपमा पुर्‌याउने ठूलो चुनौति छ ।

सन् २०१४ को विश्वकपमा तहल्का मच्चाएका जितेन्द्र मुखिया, शरद भेषावकर र ज्ञानेन्द्र मल्लबाहेक नेपाली टिमका सबै खेलाडी नयाँ छन् । कप्तान सन्दिप लामिछाने त्यसबेला घरेलु क्रिकेटमा समेत जम्ने प्रयास गरिरहेका छन् । अहिले नेपाली टिममा धेरै परिवर्तन भएको छ । तीन जना खेलाडीले त डेब्यू गर्दैछन् ।

युवा ब्याटर लोकेश बम र विवेक यादव र वैकल्पिक खेलाडीका रुपमा टिममा स्थान बनाएका सागर ढकाल पहिलो पटक राष्ट्रिय जर्सी लगाउँदैछन् ।

त्यही विश्वकपपछि सेलाएका जितेन्द्र मुखिया फेरी टिममा फर्किएका छन् । प्रशिक्षक पुबुदु पनि दोस्रो कार्यकालका लागि भर्खरै नेपाल फर्किएका हुन् । अनुभवी ब्याटर शरद भेषावकर पनि यस पटक राष्ट्रिय टोलीमा फर्किएका हुन् । शदरको अनुभव र युवा ब्याटरको क्षमताका कारण यो पटक नेपालको परम्परागत कमजोरी ब्याटिङमा सुधार हुने अपेक्षा गरिएको छ । ओपनिङ सुधार गर्नका लागि नेपालले कडा मेहनत गरेको छ ।

आरिफ शेख र कुशल भुर्तेलको उपस्थितिसँगै त्यो समस्या सुधार हुनेमा समर्थक आशावादी छन् । यि दुईको ओपनिङ पार्टनरसिपले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिज जित्न महत्वपूर्ण भुमिका खेल्यो । लगतै पपुवा न्युगिनी पिएनजीसँगको सिरिज र लिग टु मा समेत यि दुईले नेपाललाई राम्रो सुरुवात दिलाए ।

उनीहरुलाई ज्ञानेन्द्र मल्ल दिपेन्द्र सिंह ऐरी र अनुभवी ब्याटर शरद भेषावकरले राम्रो साथ दिन सक्नेछन् । त्यस्तै पछिल्लो पटक घरेलु प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका विवेक र लोकेशले पनि ब्याटिङ लाइनअप बलियो बनाउने छन् ।

तर टोलीको बलियो पक्ष मानिएको बलिङ भने यस पटक अपेक्षाकृत देखिएको छैन् । यसैमा सुधारका लागि श्रीलंकी पूर्व खेलाडी धम्मिका प्रसादलाई बलिङ कन्सल्टेन्टको जिम्मेवारी दिईएको छ । तीव्रगति बलर तथा ब्याटिङमा पनि पाली सम्हाल्ने क्षमता भएका सोमपाल कामी फिटनेश समस्याका कारण टोलीमा नहुँदा जितेन्द्रको काँधमा यो जिम्मेवारी पर्नेछ ।

जितेन्द्रसँगै ब्याटिङमा समेत अब्बल करण केसी तीव्र गतिको बलिङमा नेपालको मोर्चा सम्हाल्ने छन् । डेथ ओभर स्पेसलिष्ट भनेर चिनिने अभिनाश बोहोरा र कमलसिंह ऐरी बलिङमा उत्कृष्ट छन् । स्पिन बलिङ गर्दै विश्वका उत्कृष्ट खेलाडीलाई पवेलियनको बाटो देखाउन सफल भइसकेका सन्दिप लामिछानेको अनुभवबाट पनि नेपाली समर्थकले ठूलो आशा राखेका छन् ।

सन्दिपको काँधमा विपक्षीको विकेट लिनुसँगै टिमको रणनीति बनाउने महत्वपूर्ण जिम्मेवारी छ । त्यससँगै उनी ब्याटिङ पनि गर्न सक्छन् । सन्दिपले कप्तानी सम्हालेपछि हुने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसमा पनि तेहरो भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनको बलिङ स्तर खस्किने पो हो कि भन्ने चिन्ता आम समर्थकलाई छ ।

छनोट प्रतियोगिता खेल्नुअघि हुने चार राष्ट्र सम्मिलित सिरिज नेपालका लागि थप महत्वपूर्ण हुनेछ ।

यि सबको सबल र कमजोर पक्ष भने छनोट अगाडी हुने सिरिजले निर्धारण हुनेछ । नेपाल सहित ओमान, युएई र आयरल्याण्ड सम्मिलित सिरिजमा प्रशिक्षक पुबुदुले खेलाडीको प्रत्येक प्रदर्शनबाट उनीहरुलाई छनोट प्रतियोगितामा समावेश गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।