२३ बैशाख २०८१, आईतवार

सहमति जुटाउन अध्यक्ष नेपाल र प्रचण्डसँग देउवाद्वारा आग्रह

Deuba Prachand Madhav Nepal
फाइल फोटो

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गराउन सहमतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले छलफललाई तीव्रता दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज देउवासहित गठबन्धनका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेताहरुबीचको भेटमा अब बस्ने संसद बैठकमा एमसीसी पेश गर्नेबारे छलफल भएको बताइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।

प्रधामनमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन आफुले थालेको पहलमा साथ दिन प्रचण्डलाई आग्रह गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा देखिनुभएको छ । तर प्रधानमन्त्री देउवाले अब समय घर्किसकेकाले अनावश्यक तर्क गर्न नहुने बताउनुभएको छ ।

यस्तै नेताहरुबीच स्थानीय तह निर्वाचनको मितिबारे पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।