६ बैशाख २०८१, बिहीबार

देशमा संसद् चलेको छैन, गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ : पौडेल

Ramchandra Poudel
फाइल फोटो

सत्तारुढ दलहरुको उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।

नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन आग्रह गरे ।

शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै भने,“आज देशमा संसद् चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ ।

सरकार संसद्मा एउटा कानुन पास गराउन सक्ने अवस्था छैन । कानुन संशोधन गर्न समेत सरकारले नसकेको अवस्था छ ।” पौडेलले सरकार अहिले संसद्मा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए ।

नेता पौडेलले राज्य ‘फेलियर स्टेट’तर्फ गएको बताएका छन् । संसद् अवरुद्ध हुनु, न्यायालय अवरुद्ध हुनु र कार्यापालिकाले चुस्तरुपमा काम गर्न नसक्नु राज्य ‘फेलियर स्टेट’तर्फ गएको संकेत भएको नेता पौडेलको भनाइ छ ।