१४ बैशाख २०८१, शुक्रबार

आफूहरु चुनावसँग आत्तिएका छैनौँ, अब वैशाखमै भएपनि सामना गर्छौँ : माधव नेपाल

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट नआत्तिको बताएका छन् ।

शनिबार पार्टीनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरु जुनसुकै बेला चुनावमा जान तयार रहेको बताए । तर, उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनुपर्नेमा जोड दिए ।

“हामी चुनावसँग आत्तिएको छैनौँ । वैशाख, जेठ, असार या असोजमा चुनाव गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको निर्वाचन पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय वा प्रदेशसभाको चुनाव पहिले हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ,” उनले भने,“जनतामा जाने कुरालाई हामी सहज, स्वभाविक र अझ खुसी पनि हुन्छौँ ।”

नेकपा (एमाले)ले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने, “हामी चुनावबाट डराएका छैनौँ, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।”

उनले २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भन्दै कुन निर्वाचनलाई आधार मान्ने भन्ने विवाद रहेको बताए ।

“तीन चरणमा चुनाव भएको हुनाले पहिलो चरणलाई आधार मान्ने कारण के ? यो बुझ्न सकिएको छैन । जबकी, वैशाखलाई आधार मान्ने हो भने असोजमा भएको चुनावबाट निर्वाचित भएका व्यक्तिहरुले पाँच वर्षे अवधि पूरा गरेका हुँदैनन् । त्यसलाई कुन वैधानिक आधारमा पुष्टि गर्न सकिन्छ ? कुन तर्कको आधारमा पुष्टि गर्न सकिन्छ ? त्यो बुझ्न सकिएको छैन,” उनले भने ।