१४ बैशाख २०८१, शुक्रबार

नारायणी अस्पतालमा थप २ सङ्क्रमितको निधन

covid death

बीरगंज स्थित नारायणी अस्पतालमा उपचारकालागी भर्ना भएका २ जना कोरोना सङ्क्रमितको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

नारायणी अस्पतालमा भर्ना भएका बीरगंज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगरका ७३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

उच्च ज्वरो,रुघा खोकी निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पताल आएका पुरुषको माघ १४ गते गरिएको एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार देखी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा आज बिहान उपचारकै क्रममा निधन भएको डाक्टर सिंहले बताउनुभयो ।

यसैगरी आज बिहान ८ बजे उपचारकै क्रममा बारा जिल्ला कलैया नगरपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा निधन भएको छ । मधुमेह र मस्तिष्क रोगी समेत रहेका पुरुषको आइसियुमा उपचारको क्रममा निधन भएको कोभिड संयोजक सिंहले बताउनुभयो ।

मृतक पुरुषको माघ १४ गते गरिएको एण्टीजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले कोरोना संक्रमण विरुद्धको दुई डोज भेरोसेल खोप समेत लगाएका थिए । यसैगरी नारायणी अस्पतालमा हिजो बीरगंज महानगरपालिका वडा नम्बर २७ निवासी ६५ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएसँगै एक साता यता वीरगन्जमा ६ जना सङ्क्रमितको निधन भएको छ ।