२२ बैशाख २०८१, शनिबार

अधिकांश स्थानमा पाँच दलीय गठबन्धनका उम्मेदवार निर्वाचित, कुन प्रदेशमा को विजयी ?

rastriya sava

राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा अधिकांश सिटमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अहिलेसम्म मत गणना सम्पन्न भएका मधेश प्रदेश वाहेकका सबै प्रदेशमा अधिकांश सिटमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने एकसिट नेकपा एमालेले जितेको छ ।

जनता समाजवादीका हेमराज राईलाई पराजित गर्दै एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित हुनु भएको हो । प्रदेश एकमै अन्य तर्फको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालले बराबरी मत ल्याए पनि गोलाप्रथाबाट काँग्रेसका बस्नेत निर्वाचित हुनुभएको छ । प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी हनु भएको छ ।

यता, यता बागमती प्रदेशमा पनि सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी हुनुभएको छ । बागमती प्रदेशमा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना महिला समूहबाट र नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल अन्य समूहबाट विजयी हुनुभएको हो ।

उता गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनतर्फबाट महिला कोटाबाट कांग्रेसका कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार विजयी हुनुभएको हो । एमालेका लिला थनेत, पुण्य पौडेल र अर्जुनकुमार सुनामलाई पराजित गर्दै गठबन्धन उम्मेदवार विजयी हुनुभएको हो ।

उता, राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पनि पाँच दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक विजयी हुनुभएको हो ।

त्यसैगरि कर्णाली प्रदेशबाट सत्तारुढ पाँच दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी परेको थियो । बुधवार भएको मतदानमा महिला तर्फ सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ विजयी हुनुभएको छ । उहाँले एमालेका गंगा थापालाई पराजित गर्नुभएको हो ।

यस्तै अपाङ्गता वा अल्पसंख्यक तर्फबाट गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी हुनुभएको छ । एमालेका पदमबहादुर माझीलाई पराजित गर्दै विष्ट विजयी हुनुभएको हो । यसैगरी, अन्य समूह तर्फको एक सिटमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजयी हुनुभएको छ । बोहराले एमालेका चुडामणि शर्मालाई पराजित गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेसका नारायण मिश्र विजयी हुनुभएको हो ।

मधेस प्रदेशमा भने मत गणना अझै जारी छ ।