१४ बैशाख २०८१, शुक्रबार

नो मेन्स ल्याण्डमा भारतीय सुरक्षा बलको सुरक्षा पोष्ट स्थापना

dasgaja ssb

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा सुरक्षा पोस्ट खडा गरेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया र भारत जोगवनीस्थित टिकुलिया वस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो ।

एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बाले दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न बताउनुभयो ।

उहाँले कूटनीतिक रुपमा पोष्ट हटाउन पहल गर्नुपर्ने बताउनुभयो । काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेक गर्ने गरेको स्थानीयले बताए ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

दशगजा क्षेत्रमा एकतर्फी सुरक्षा पोष्ट स्थापना भएपछि नेपालको तर्फबाट त्यसबारे जानकारी लिने काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार दसगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन पाइँदैन। प्रजिअ दाहालले सो क्षेत्रमा निर्माण भएको संरचना हटाउन कूटनीतिक पहल गरिने बताउनुभयो ।

भारतको अररिया डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग यस विषयमा कुरा राखिने उनले जानकारी दिनुभयो । ‘भारतीय पक्षबाट समाधान नआए गृह मन्त्रालयमार्फत पहलका लागि कुरा अघि बढाउँछु’, प्रजिअ दाहालले भनुभयो , ‘यसअघि नेपालको सीमा सुरक्षा निकाय सशस्त्र प्रहरी बलसँग समन्वय गर्छु।’

अस्थायी संरचनाको रुपमा हाल काठ र कर्कटपाताको प्रयोग गर्दै एसएसबीले दसगजामा चेकजाँच गर्न थालेको छ। उनीहरुको चेकजाँचका क्रममा नेपाली नागरिक पीडित हुने गरेको बताउँदै सुब्बाले स्थानीयलाई धम्क्याउने हतियारसहित नेपाल भूमिमा पसेर गतिविधि गर्दै आएको स्थानीयको गुनासो छ। खुला सीमाको फाइदा उठाउँदै एसएसबीले आफूखुसी पोष्ट बनाएको वडाध्यक्ष सुब्बाको भनाइ छ।