१४ बैशाख २०८१, शुक्रबार

भुसको आगोझैं फैलँदै सीमा क्षेत्रमा लागु औषध प्रयोगकर्ता

lagu

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा लागुऔषधको समस्या भयावह बन्दै गएको छ ।

भारत–नेपाल सुरक्षा अधिकारीको बैठकमा प्रमुखताका साथ यो विषय उठ्दै आएपनि नियन्त्रणमा भने कुनै प्रगति देखिएको छैन । बरु खुल्ला सीमाका कारण लागु औषधको ओसार पसार र प्रयोगकर्ताको संख्या भुसको आगो जस्तै फैलँदै गएको छ ।

प्रहरीका अनुसार बाँकेमा हुने अपराधिक घटनामा संलग्न व्यक्तिहरुमध्ये करिब ७० प्रतिशत लागु औषधका दुर्व्यसनी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष र बाँके कारागारका अधिकांश कैदीबन्दी लागु औषधसम्बन्धी मुद्दाका छन् ।

पछिल्लो ६ महिनामा मात्रै बाँके प्रहरीले दुई सय ६५ ग्राम ब्राउन सुगर, ३ हजार ५ सय ४३ ट्रयालेट नाइट्राजेपाम, ६ हजार मिलिलिटिर कोरेक्स र ५ लाख ११ हजार नगदसहित ८८ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । लागु औषध कारोबारीबाट बाँके प्रहरीले दिल्ली क्राइम प्रेस लेखेको कार्डसमेत बरामद गरेको थियो ।

लागु औषधको समस्या भयावह बन्दै गएपछि नेपालका सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीहरुको बैठकमा पनि लागु औषधको अवैध कारोबार नियन्त्रणको विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।

करिब ७० प्रतिशत लागु औषधका सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहका छन् । स्कुले विद्यार्थीदेखि बेरोजगार युवा दुर्व्यसनमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् । अभिभावकबाट राम्रो हेरचाह नपाएकाहरु बढीजसो लागु औषध तस्करीमा संलग्न हुने गरेको पाइएको छ ।

बाँके प्रहरीका अनुसार पछिल्ला दिनहरुमा नेपालबाट अफिम र चरेश भारततर्फ जाने र भारतबाट ब्राउन सुगर नेपाल भित्रने गरेको छ । लागु औषधको ओसारपसार हुन नदिन सीमा नाकामा प्रहरीले कडाई गर्दै आएको छ ।

गृह मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषध प्रयोगकर्ता छन । लागु औधष प्रयोगकर्ताहरुको संख्या बर्सेनि करिब ११ प्रतिशतका दरले बढ्दै गएको छ ।

कडा कानूनी कारबाहीबाट मात्रै लागु औषधको बढ्दो समस्यालाई नियन्त्ररणसँगै लागु औषधका दुर्व्यसनी तथा कारोबारमा संलग्न व्यक्तिहरुलाई मनोसामाजिक परामर्श दिएर लागु औषध सेवन र कारोबार छाड्नका लागि प्रेरित गर्नु जरुरी छ ।