११ बैशाख २०८१, मंगलवार

थप बजेट स्वीकृत दुनै–मरिम्ला सडक निर्माणका लागि

dunai marimla sadak

भेरी करिडोर अन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थमन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ। उपल्लो डोल्पाका थप बजेट लागि अर्थमन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका कृष्ण केसीले जानकारी दिए।

एक अर्ब २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले बताए। बाँकी दुई अर्ब १५ करोड रुपैयाँ अर्थमन्त्रालयले सडकको लागि सहमति दिएको छ। भेरी करिडोर अन्तर्गतको यो सडक भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गको रुपमा रहेको छ।

भेरीकोरिडोर अन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडक खण्डको डीपीआरको एक अर्ब २० करोड बजेट कार्यान्वयन भइरहेको र दुई अर्ब १५ करोड बजेट अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुस महिनाको दोस्रो साता मन्त्रीस्तरीय निर्णयबाट सहमति दिएपछि दिइसकेको छ।

बजेटको सुनिश्चितासँगै दुनै–लासिक्याप–धो सडक खण्ड बन्ने निश्चित भएसँगै उपल्लो डोल्पाका स्थानीयबासी खुसी भएका छन्। अर्थमन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई बजेट सहमतिसँगै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने डोल्पोबुद्द गाउँपालिका–१ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताए।

सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाइ महत्वका साथ हेरिएको छ। भेरी करिडोर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ।

कर्णेल विश्ववन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गतका जाजरकोट–डोल्पा सडक निर्माण कार्य २०६५ मा सुरु भएको थियो। ट्याक औपनसँगै सेनाले उक्त ११८ किलोमिटर सडक २०७६ सालमै भौतिक पूर्वाधार मन्त्रालयलाइ हस्तान्तरण गरिसकेको छ।

दुबैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल ११० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ। दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ। दुनैदेखि–धोसम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ। डोल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जोडिए पनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या छ।

बेलिबृज निमार्णको काम भने जारी छ। देशको उत्तर सीमाको सुरक्षा गरिरहेको माथिल्लो डोल्पाका तीन गाउँपालिका भित्रका जनताहरूले नेपालतर्फ सडकको सुविधा नहुँदा वषौंदेखि नागरिकता र सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम दुनैसम्म तीन दिन पैदाल यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। सम्पूर्ण खाद्य र अन्य सामनहरू महँगो मूल्यमा उपभोग गरिरहेको छ।

दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन। चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ। स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने बताउँछन्।

डोल्पा जडिबुटीको भण्डार भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुईमत छैन। केही वर्षअघि नेपाली सेनाले जाजरकोट–दुनै सडकखण्ड निर्माणपछि लासिक्याप, धो सडकखण्ड पनि नेपाली सेनाले नै बनाउनुपर्ने उपल्लो डोल्पाका जनताको माग थियो। तर, जनताको अपेक्षा विपरीत सेनालाई डोल्पाबाट षड्यन्त्रपूर्वक फिर्ता गरेपछि दुनै धो सडक निर्माण ओझेलमा परेको थियो।

    सम्बन्धित समाचार...