१४ बैशाख २०८१, शुक्रबार

प्रम देउवाको आह्वानमा सर्वदलीय बैठक आज, स्थानीय तहको चुनावबारे छलफल हुने

Sher Bahadur Deuba 5
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाइएको हो । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले हिजो साँझ विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

त्यसअघि हिजो बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान र कानूनीविद्हरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।

निर्वाचन आयोगले भने २०७९ जेठ ५ मा स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएकाले वैशाख १४ र २२ मा निर्वाचन घोषणा गर्न सरकारलाई सिफारिश गरेको छ । तर सत्तारूढ दलका नेताहरूले भने स्थानीय निर्वाचनबारे संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको बताएका छन् ।

साथै तीन चरण २०७४ साल वैशाख २९ , असार १४ र असोज २ मा निर्वाचन भएकाले पाँच वर्षे कार्यकाल कहिले शुरु भएको मान्ने भन्ने पनि अन्योल छ ।

यता नेकपा एकीकृत समाजवादी सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा एमालेले आजको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन । एमालेले आफूले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै सरकारले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ ।