१४ बैशाख २०८१, शुक्रबार

कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

national human rights commission

राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उजुर गर्ने एक वर्षको हदम्यादसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी कानूनलाई संविधान प्रदत्त बनाउन उक्त पत्राचार गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “विभिन्न कारणबाट कानूनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्था समेत सिर्जना हुन सक्ने कुरालाई मध्यनजर गरी हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडितमैत्री हुने गरी संशोधन गर्नुपर्ने देखिँदा संशोधनका लागि आयोगले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।”

जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुर गर्ने एक वर्षको हदम्यादका कारण पीडितहरूको न्याय प्राप्त गर्ने हक प्रभावित हुन गएको आयोगको ठहर छ ।

    सम्बन्धित समाचार...