१४ बैशाख २०८१, शुक्रबार

साझा उम्मेदवार बनाएर पाँच दलीय गठबन्धन नै राष्ट्रिय सभामा जाने

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताएका छन् ।

लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए ।

नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए ।

उनले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताए । यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धनसँगै हुनेछ । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङ्कित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।