१४ बैशाख २०८१, शुक्रबार

नेपाल वायुसेवा निगमको एक जहाज दुर्घटना पछी अर्को जहाजले स्वाब लिएर फर्कियो

nepal airlines twin otter

कोरोना परीक्षणका लागि संकलन भएको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को वाई-१२ दुर्घटना भएपछि निगमले पुनः अर्को जहाज पठाएको छ। दुर्घटनाग्रस्त जहाज फिर्ता हुन नसक्ने भएपछि निगमकै ९ एन एवियु ट्‍विनटर जहाजले थ्रोट स्वाब लिएर गएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए।

वाई-१२ जहाज रन-वेबाट चिप्लिएर घाँसेमैदानमा पुगेपछि सोको प्रारम्भिक अध्ययनका लागि प्राविधिकसमेत सोही जहाजमा नेपालगञ्ज प्रस्थान गरेका छन्। टि्वनअटर जहाजले नमुनासँगै यसअघि दुर्घटनामा परेका चालकदलका ३ सहित ५ जनालाई पनि ल्याउने छ। दुर्घटनामा परेको जहाजमा ५ जना भएपनि उनीहरू सबै सकुशल छन्।

उक्त जहाजले १० जनाको स्वाब लिएर गएको छ। भेरी अस्पतालले संकलन गरेको ९ र नेपालगन्ज मेडिकल कलेजको एक गरी १० जनाको स्वाब लगेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए। हालसम्म बाँकेबाट २३ जनाको स्वाब संकलन गरी पठाइएको छ। तीमध्ये सात जनामा कोरोना भाइरस नभएको ल्याब रिपोर्ट आएको छ।