१३ बैशाख २०८१, बिहीबार

बेल्जियमबाट आएकी युवतीलाई कोरोना संक्रमण पुष्टि

Qatar Airways

बेल्जियमबाट आमा बुवालाई भेट गरी घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या पाँच पुगेको छ ।

युरोपबाट फर्किएकी १७ वर्षीया युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी हुन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसको लगत्तै विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

युवतीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकाले तत्काल सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. शैलेन्द्र वि. पोख्रेलले जानकारी दिए ।

‘विरामीलाई ज्वरो, खोकी छैन, श्वास प्रश्वासमा पनि समस्या देखिन्न,’ डा. विकले भने, ‘होम आइसोलेसनमा राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको छ । अन्य ठाउँमा पनि विरामीको अवस्था जटिल नहुँदा घरमै उपचार गर्ने अभ्यास रहेको डा. विकको भनाइ छ ।

बागलुङ नगरपालिकामा रहेको आफ्नै घरमा रहेकी उनको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।