११ आश्विन २०७९, मंगलवार

घाटा ४८ अर्ब पुग्दासमेत वायु सेवा निगमको सुधारमा सरकार उदासीन

nepal airlines

मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको आन्तरिक उडान आज ठप्प भयो । आन्तरिक उडान तर्फ तीन प्रतिशत हिस्सामा सीमित निगमले प्राविधिक समस्या देखाउँदै भोजपुर र दाङमा हुने उडान रद्ध गरेको हो ।

अन्तर्राष्ट्रिय तर्फ पनि गन्तव्य घटाइरहेको छ । भएका जहाज घाम तपाएर राख्ने अनि व्यवसायिक योजना नहुँदा नेपाल एयरलाइन्सको घाटा मात्रै ४८ अर्ब पुगेको छ । यो अवस्थाको एउटा कारण सरकार आफै हो ।

सरकारी स्वामित्वको नेपाल एयरलाईन्सका आन्तरिक उडान भर्ने जहाज २ वटा मात्रै छन् । ती पनि विभिन्न समस्या देखाएर बारम्बार नियमित उडान नहुँदा आन्तरिक बजार दिनप्रतिदिन खुम्चिँदो छ ।

अन्तर्राष्ट्रिय तर्फ पनि नयाँ गन्तव्य खोज्ने र बजार विस्तार गर्न देखिने काम हुन सकेको छैन । ११ अन्तर्राष्ट्रिय र १७ वटा स्थानमा आन्तरिक उडान गर्ने भनिएको छ । तर अन्तर्राष्ट्रियतर्फ सातामा २१ वटासम्म उडान घटिरहेका छन् ।

४८ अर्ब ऋण बोकेको निगम उडान बढाएर सक्षम हुनुको सट्टा झन् झन् कमजोर भैरहेको छ । १४ सयभन्दा बढी कर्मचारीको पालिरहेको निगम दैनिक लाखौँ घाटामा छ । आर्थिक र व्यवस्थापकीय सुधार गर्नुको साटो राजनीतिकरण र कमिसनको खेलले वायु सेवा निगम धरासायी बन्ने स्थितिमा पुगेको हो ।

निगमको अवस्था सुधार गरि विश्व बजारमा प्रतिस्पर्धी बनाउन धेरै प्रतिवेदनले कम्पनी मोडलमा लैजान सुझाव दिएका छन् । पूर्ण नीजिकरण र संरचना सुधार लगायतका विकल्प पनि निगम सामू छन् । तर सरकारलाई त्यसमा चासै छैन । बरु सरकार फेरिएपिच्छे व्यवस्थापन फेर्ने र दलका मान्छेलाई जागिर दिने थलो बनाइएको छ ।

३ अर्बभन्दा धेरै खर्च गरेर चीनबाट ल्याइएका पाँचवटा जहाज २ बर्षदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन् । तिनलाई न उडाउन सकिएको छ नत, ल्याउनेलाई कारवाही ।

नेपालमा वार्षिक २ करोड पर्यटक आएमा ३३ लाखले रोजगारी पाउने विश्व बैंकको आँकडा छ । यसले पर्यटन विकासका लागि भए पनि राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन प्रेरणा मिल्छ। तर अति राजनीतिकरणले जेलिएको नेपाल वायु सेवा निगममा नीतिगत सुधार नारा मात्रै भैरहेको छ।