१४ बैशाख २०८१, शुक्रबार

धुनिबेशीमा एक महिलाको शंकास्पद हत्या, एक जना पक्राउ

mahila1636631390

धादिङको धुनिबेशी नगरपालिका–१ डाडा गाउँमा एक महिलाको हत्या भएको छ । अन्दाजी ५९ वर्षीया तीर्थमाया तामाङ गुरुङ्गको गएराति ८ बजेको समयमा हत्या भएको प्रहरीको प्राम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

तीर्थमाया तामाङ गुरुङ्ग एकल महिला हुन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनको ज्वाई र छोरी सन्जु तामाङ्ग भने कोल्पुखोलामा पसल गर्दै आएका छन् । घटना भएको दिन ज्वाईले घरमा बत्ति बालेर गएको र केही समयपछि ज्वाईको भतिजो वीर बहादुर तमाङ्ग ‘ठुले’ले रक्सीको झोँकमा हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

वीर बहादुरको कपडामा समेत रगत लागेको अवस्थामा घटना नजिक फेला परेकोले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस घटनामा अरु पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानिखोला प्रहरी निरीक्षक रुपा थापाले बताउनु भयो ।

प्रहरीका अनुसार महिलाको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको छ । कानमा लगाएको सुनसमेत हराएको हुदा सुनकै कारण महिलाको हत्या गरिएको हुनसक्ने प्राम्भिक अनुसन्धानमा देखिएको छ ।