७ बैशाख २०८१, शुक्रबार

विभिन्न पार्टी परित्याग गरी देशभर एकीकृत समाजवादीमा प्रवेश गर्नेकाे लहर

madhav

देशभर विभिन्न पार्टीहरू परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेकाे लहर चलेकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि यसप्रतिको बढेकाे आकर्षणले यसमा संगठित हुने लहर शुरु भएको हाे ।

बिहीवार एकीकृत समाजवादीले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कम्युनिष्ट घटक परित्याग गरी दैनिक हजाराैंकाे सख्यामा पार्टीमा प्रवेश गर्नेहरूलाई विभिन्न कार्यक्रमकाे आयोजना गरी पार्टीले स्वागत गरिरहेकाे जनाएकाे छ।

कथित १० बुँदे सहमतिकाे भ्रममा परेर एमालेमा सामेल भएकाहरू एकीकृत समाजवादीमा प्रवेश गरिरहेकाे विज्ञप्तिमा भनिएकाे छ । ‘यो पार्टी निर्माणपूर्व ‘नेकपा (एमाले) को एकता जोगाउने’ नाममा गरिएको कथित १० बुँदे सहमतिको भ्रममा परी हाम्रो पार्टीमा सामेल नहुनु भएका देशभरका कमरेडहरु पछिल्लो समय उक्त भ्रमबाट मुक्त हुनुभई पार्टीमा प्रवेश गर्न थाल्नुभएको हो ।’ विज्ञप्तिमार्फत पार्टीले भनेकाे छ ।

एमालेमा केपी ओलीको व्यक्तिवादी अहंकारवाद र दक्षिणमपन्थी विसर्जनवाद हावी भएपछि डडेल्धुराका जिल्ला कमिटी अध्यक्ष डा तारा जोशीसहित जिल्ला नेतृत्वका १४ कमरेडहरु एकीकृत समाजवादीमा प्रवेश गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । त्यस्तै, जिल्ला कमिटीका उपाध्यक्ष वीरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटीसहितका कमरेडहरुलाई अध्यक्ष माधवकुमार नेपालले डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको छ ।

त्यस्तै, महाधिवेशनको पूर्वसन्ध्यामा रहेको नेकपा (माले) परित्याग खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी, विभिन्न प्रदेश र केन्द्रीय विभागका जिम्मेवारीमा रहेका सदस्यहरू एकीकृत समाजवादीमा आवद्ध भएका छन् । नेकपा (माले) का पोलिट्व्युरो सदस्य कूलप्रसाद शर्मा फुँयाल, केन्द्रीय सदस्यहरु श्यामराज राई, कालीप्रसाद यादव, शंकर पोखरेलले प्रेस विज्ञप्तिमार्फत एकीकृत समाजवादीमा प्रवेश गरेकाे घोषणा गरेका छन् ।

त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) दोलखा जिल्ला कमिटी सदस्य रामबहादुर खड्कासहित गौरीशंकर गाउँपालिकाका नेकपा (एमाले) का १० जना समर्थकलाई पनि अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएकाे छ ।