६ बैशाख २०८१, बिहीबार

मोर्चाबन्दी नै गर्‍यो अदालतले एमालेविरुद्ध: ज्ञवाली

Pradip gayali

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी गरेर एमालेलाई सरकारबाट हटाएको बताए ।

‘पापको घैँटो फुट्यो भने जस्तो हिजो सेटिङ भएको ठाउँमा आज एकअर्कालाई पोलापोल गर्नुभाछ । अदालतले केही नेताको स्वार्थमा परमादेश जारी गर्दिने । त्यो परमादेश जारी गरिदिए बापत सरकारले उहाँका कसैलाई मन्त्री र कसैलाई पदक उपहार दिने गर्नुभाछ । अपवित्र साँठगाँठ त्यहाँ भएको छ’, उनले भने ।

एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्न लागिएको उनले बताए । महाधिवेशनमा जनताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए ।

‘चितवनबाट मात्रै तपाइहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविक जस्तो लाग्ला । तपाइका पार्टी सदस्यका हिसाबले एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, उनले भने । जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी र चक्रव्यूह निर्माण गरिएको पनि उनले बताए ।

‘संसारमा सत्तापक्षका विरुद्धमा प्रतिपक्षले मोर्चाबन्दी गर्छन्, स्वाभाविक मानिन्छ । तर, हामी कहाँ प्रतिपक्षका विरुद्धमा सत्तापक्षले मोर्चाबन्दी गरिरहेको छ’, उनले भने, ‘सत्ता गठबन्धनले गायत्री मन्त्र जस्तो यो गठबन्धन चुनावसम्मै जान्छ भन्ने गर्नुहुन्छ । एमालेसँग एक्लै लड्ने तागत गठबन्धनका कुनै शक्तिसँग पनि छैन ।’

एमालेविरुद्ध मोर्चाबन्दी गर्नकै लागि संघीयता र संविधान खारेज गर्नेदेखि ११ वटा प्रदेशको माग गर्ने पार्टी एकठाउँमा आएको उनले बताए । ‘यो कुनै सिद्धान्तको गठबन्धन होइन । एमालेप्रतिको विरोध र प्रतिशोध र कुण्ठाले उहाँहरूलाई एक ठाउँमा ल्याएको छ’, उनले भने ।

एमाले भित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएको समेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने उनको भनाइ थियो ।

महानगर कमिटीले लियो शपथ

एमाले भरतपुर महानगर कमिटीको नयाँ पदाधिकारीले बिहीबार शपथ ग्रहण गरेका छन् । लामो रस्साकस्सीपछि सर्वसम्मत रूपमा चयन गरिएको भनिएको कमिटीलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा शपथ खुवाइएको हो ।

महानगर कमिटीमा शंकर थपलियाको अध्यक्षतामा ११४ सदस्सीय कमिटी चयन गरिएको हो । थपलियालाई एमाले जिल्ला नेता केशवप्रसाद रेग्मीले शपथ खुवाएका हुन् । महानगर कमिटी अध्यक्ष थपलियाले सचिव, सहसचिव लगायत सदस्यलाई शपथ खुवाएका हुन् । महानगर कमिटीको सचिवमा टिकाराम सुवेदी र सहसचिवमा निशा अधिकारी चयन भएका छन् ।

उपाध्यक्ष र एक सहसचिव पछि थप गर्ने भनिएको छ । महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते भएको थियो । अध्यक्षलगायतको पदमा धेरैको आंकाक्षा देखिएपछि पदाधिकारी चयनमा पार्टी नेतृत्वलाई सकस भएको थियो । अध्यक्षका प्रत्याशी प्रह्लाद प्रधानको समूहले महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमै ब्यानर प्रदर्शन गरेर विरोध जनाएका थिए ।