१३ बैशाख २०८१, बिहीबार

सकियो गठबन्धनको बैठक, बेलुका पुन : बस्ने

gathabandhan meeting

सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रवार बिहान बालुवाटारमा बसेको बैठक सकिएको छ । बैठक आज साँझ पुनः बस्ने गरी सकिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम छिटो दिन आग्रह गर्नुभएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले गठबन्धनमा आबद्ध नेताहरूलाई आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुङ्ग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिनुभयो ।समय अभावका कारण छलफल नटुङ्गिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने गरी बैठक टुङ्गाइएको उहाँले बताउनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेल सहभागी हुनुहुन्थ्यो ।