१५ चैत्र २०८०, बिहीबार

क्षमा पूजा गरेपछि पशुपतिनाथ साढे चार महिनापछि खुल्यो

pashupatinath
फाइल फोटो

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आजबाट खुल्ला गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रि देखि मात्र शुरु गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविक बमोजिम नै मन्दिर खुला लगायत निर्णय गरिने कोषले जनाएको छ । आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी लगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ ।