१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसबारे एक पछि अर्को अफवाह– सैनिक हेलिकोप्टरबाट विषादी छरिँदै !

nepal army

कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिएको छ । नेपालमा हालसम्म कुनै पनि संक्रमित फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश भनेको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनी र विश्वव्यापी रुपमा यसको बढ्दो संक्रमणका बीच सरकारले वचावटका लागि पहल पनि थालेको छ ।
तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कोरोना भाइरसबारे अनेक भ्रमहरु छर्न थालेका छन् ।

नर्भिक अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको र नेपालमा धेरै जना कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जाल फेसबूकमार्फत एउटा अडियो भाइरल भयो ।

प्रहरीको केन्द्रीय साईबर ब्यूरोले कोरोना भाइरसबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ युवकलाई पक्राउ पनि गरिसकेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् । नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए।

कोरोना भाइरसबारे भ्रम छर्नेविरुद्ध प्रहरीले अनुसन्धान जारी राख्दा पनि पछिल्लो समय फेरि अर्को अफवाह भाइरल भइरहेको छ ।

सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइरसको विषादी छर्ने भन्दै फेसबूक लगायतका सामाजिक सञ्जालमा अहिले अर्को अडियो र पोस्ट भाइरल हुन थालेको छ ।

नेपाली सेनाले भने हेलिकोप्टरमार्फत कोरोनाविरुद्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाको विषादी छर्ने विषय अफवाह मात्रै भएको बताए ।

‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन । सरकारले पनि त्यस्तो कुनै योजना बनाएको बुझिएको छैन,’ सैनिक प्रवक्ता पाण्डे भन्छन्, ‘यो सबै अफवाह (हल्ला) मात्रै हो । यस्तो हल्ला फैलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’