६ चैत्र २०८०, मंगलवार

कोभिड जोखिम : तनहुँमा जात्रा, मेला, कन्सर्ट गर्न रोक

tanahu DAO

कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहुँमा सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीड भाड गरेर होली नमनाउन आग्रह गरेको हो । फागु पूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो ।

कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्यु दरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवत जावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ ।

बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी निगरानी गर्ने गराउने निर्णय पनि बैकले गरेको छ ।