१४ बैशाख २०८१, शुक्रबार

‘म बाहिरिएँ, राजनीतिले काम गरोस’

60fd0b6b409fd coach
फाइल फोटो

नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आफ्नो जिम्मेवारी छोड्ने संकेत गर्नुभएको छ ।

यसअघि पनि सामाजिक सञ्जालमा राजिनामाको घोषणा गर्नुभएका प्रशिक्षक अलमुतैरीले यस पटक भने आफू बाहिरिएको घोषणा गर्नुभएको छ ।

प्रशिक्षक अलमुतैरी र वरिष्ठ उपाध्यक्ष पंकजकुमार नेम्वाङ्गबीचको विवादको विषयमा गठित छानबीन समितिले बुधबार मात्रै आफ्नो प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्लाई बुझाएको छ ।

प्रतिवेदनमा प्रमुख प्रशिक्षक अलमुतैरीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने सुझाब दिइएको छ । पोखरामा बन्द प्रशिक्षणमा टोलिसँगै रहेका प्रमुख प्रशिक्षक अलमुतैरीले फेसबुकमा लेख्नुभएको छ, “म बाहिरिएँ, राजनीतिले काम गरोस् ।”

यसअघि साउन १० गते प्रमुख प्रशिक्षक अलमुतैरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारणले काम गर्न असहज भएको भन्दै आफू पदबाट राजिनामा गरेको फेसबुकमा उल्लेख गर्नुभएको थियो । तर सोही दिन एन्फा कम्प्लेक्स पुग्दा पदाधिकारीले उहाँलाई आरा मगर्न सुझाब दिएको थियो । केही दिनपछि उहाँ पुनः प्रशिक्षणमा फर्किनुभएको थियो ।

हाल राष्ट्रिय फुटबल टोलिसँगै पोखरामा रहनुभएका अलमुतैरीको नयाँ घोषणालाई लिएर एन्फा पदाधिकारीले कुनै प्रतिक्रिया दिएको छैन् ।

उक्त प्रकरणमै केन्द्रिय सदस्य समेत रहनुभएका किरण राईले एन्फाको प्रवक्ताको पदबाट राजिनामा दिनुभएको थियो ।

नेपालले साफ फुटबल च्याम्पियनशीपको तयारी स्वरुप भदौ १७ र २० गते भारतको राष्ट्रिय फुटबल टोलिलाई मैत्रीपूर्ण फुटबलका लागि आयोजनाको तयारी गरिरहँदा प्रमुख प्रशिक्षक अलमुतैरीको विवाद पुनः चुलिएको छ ।