१२ बैशाख २०८१, बुधबार

खोइरो खन्दै आए पनि अन्तमा ओलीतिर लाग्नुअघि कमरेडहरुले के के गरेका थिए ?

uml photo

हिजोदेखि माधवकुमार नेपाललाई औपचारिक रुपमा बिदा गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सामूहिक फोटो खिच्न र नजिकिन हतारिने केही नेताले यसअघि नै पार्टी विभाजनको लागि नयाँ दल दर्तासम्मको कार्य गरेको रहस्य खुलेको छ ।

लामो समयसम्म तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्षको खोइरो खन्दै आए पनि अन्तमा उहाँसँगै नारिएर फोटो खिचेका नेताहरुको बारेमा नेकपा एकीकृत समाजवादी निकट उच्च स्रोतले उहाँहरुले फोटो सेसनबाट विगतको क्रियाकलाप ढाकछोपको प्रयास गर्नुभएको अर्थ लगाएको छ ।

अरुभन्दा भीम रावल,भीम आचार्य र सुरेन्द्र पाण्डेहरु केही समय अघिसम्म ओलीको नाम सुन्न चाहँदैनौं भन्दै सबैभन्दा धेरै बिरोधमा हुनुुहुन्थ्यो । यसअघि जीवन राईको पार्टी नेकपा एकीकृत दर्तामा उनैमध्येका एक जना नेताले भएभरको बल लगाउनुभएको थियो । त्यसैगरी नेकपा लोकतान्त्रिक भीम रावलको निर्देशनमा दर्ता भएको बताइन्छ ।

एकीकृत समाजवादीका नेताहरुका अनुसार,‘त्यतिबेला चर्का कुरा गर्ने जति सबै उतै जानुभयो ।’ उहाँहरुले त्यतिबेला भन्ने गरेको सन्दर्भ उल्लेख गर्दै स्रोत भन्छ, ‘केपीलाई फाल्न पर्छ, जो प्रधानमन्त्री भए पनि हुन्छ भन्ने उहाँहरु नै हो । म म भने हुन्छ ।’

तर अहिले ‘फेस सेभिङ’ को लागि आफूहरुलाई माधव नेपालले छाडेर गएको भन्नुले कुरो छर्लङ्ग भएको पनि स्रोतको भनाई छ । हिजोका दिनमा नेपाललाई उहाँहरुको साथ विषयवस्तु चर्काउनको लागि मात्रै थियो भन्ने पुष्टि भएको हिजो दर्ता भएको नेकपा एकीकृत समाजवादीका एक जना नेताले जनआस्थालाई बताउनुभयो ।

नेपालको साथ छाडेर अध्यक्ष ओलीतिर गएका नौ जना स्थायी समिति सदस्यहरुलाई इंगित गर्दै शंकर पोखरेलले लगभग आगामी रणनीतिको बारेमा हिजै बताइ सक्नुभएको छ । उहाँले १० औं महाधिवेशनपछिको अध्यक्ष र चुनावपछिको प्रधानमन्त्री पनि केपी ओली नै हो भन्नुले हिजो प्रतिगमनकारी भन्दै आएका तर तर अहिले संस्थापन पक्षतिर लागेका नेपाल निकट नेताहरुलाई २४ घण्टा नबित्दै ‘आपत्’ आइलागेको रुपमा बुझ्न थालिएको छ ।

यसको अर्थ आगामी विधान अधिवेशनबाट अध्यक्ष ओलीको निम्ति उमेर हदको व्यवस्था हटाइने पक्का देखिएको छ । जुन महाधिवेशन र आगामी निर्वाचनपछिको सम्भावित मार्ग प्रशस्त हो ।

यसैबीच हिजो निर्वाचन आयोगमा दस्तखत सनाखतमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य संख्या ५५ पुगेको छ । त्यो भनेको २७ दशमलब ०९ प्रतिशत हो । वरिष्ठ नेता झलनाथको नामलाई पनि आयोगले अन्तमा सनाखत गरेको छ । समाचार जनआस्था साप्ताहिकमा प्रकाशित छ ।