१५ चैत्र २०८०, बिहीबार

महिनौंको विवादपछि नेपाली फुटबल लयमा फर्किने प्रयासमा

football

अखिल नेपाल फुटबल संघ एन्फाले कप्तान किरण चेम्जोङसहित टिमबाट बाहिरिएका १० सिनियर खेलाडीलाई बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएर तयारी तीव्र पारेको छ ।

यो पटक टिमको नेतृत्व अब्दुल्लाह अल्मुताइरीको हातमा छैन । एन्फाले प्रदिप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

अल्मुताइरीसँगको विवादका कारण टिमबाट हटाइएका खेलाडीले एसिया कप छनोट पनि गुमाएका थिए । कठिन परिस्थितिको सामना गरेका खेलाडी अभ्यासमा फर्किन पाउँदा खुशी छन् ।

राष्ट्रिय टोलीका खेलाडीहरु विगतका नमिठा घटना भुल्न चाहिरहेका छन् । पाँच महिनासम्म प्रतियोगिता नहुँदा धेरै खेलाडि त विदेश नै पलायन भए । त्यति मात्र होइन, राष्ट्रिय टिमका अधिकांश खेलाडी भारतका स–साना प्रतियोगिता खेल्न बाध्य भए । अहिले भने उनीहरुले राहत महसुस गरेका छन् ।

कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईले अहिले युवालाईसमेत समेटेर ४० जनालाई टिममा बोलाएका छन् । नेपाली मुलका अमेरिकी प्रशिक्षक हुमागाईं आफै अहिले विवादमा छन् ।

उनले श्रम स्वीकृती लिएका छैनन् भने झुटो विवरण पेश गरेको समेत आरोप खेपिरहेका छन् । यस्तै विषयको जवाफ दिनुपर्ने डरले उनी सञ्चारमाध्यम सामु आउन चाहेका छैनन् ।

हुमागाइँलाई सहायक प्रशिक्षक युगलकिशोर राईले सहयोग गरिरहेका छन् । नेपाल र बंगलादेशबीचको खेल आगामी असोज ११ गते दशरथ रंगशालामा हुनेछ । यही खेलमार्फत नेपाली टोलीको नयाँ परीक्षा सुरु हुने छ ।