१६ चैत्र २०८०, शुक्रबार

मुख्य दलहरुबीच ध्रवीकरण र गठबन्धनको गठजोड चलिरहँदा दलहरु अलमलमा

upendra mahanta

जनता समाजवादी पार्टी जसपा सत्तामा छ । यही दलबाट गत बर्ष भदौं विभाजित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा विपक्षमा छ ।

तराई मधेश केन्द्रित मध्ये राष्ट्रिय मान्यता पाएका यि दुई दल मात्रै हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो शक्ति जोगाउन त्यति सजिलो छैन ।

सत्ता गठबन्धनमा भएकोले आफूले पाउने सिटमा नेता जिताउन जसपालाई भने धेरै समस्या नहुने देखिन्छ । गत बैशाखको स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गरेको लोसपालाई एक्लै निर्वाचनमा जाँदा जित्न कठिन हुने देखिँदै छ ।

अहिले सत्ता गठबन्धनमा जान खोजिरहेको उसलाई धेरै नेता व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता पनि छ । त्यो स्थितिमा एमालेसंग सहकार्य र त्यो पनि नभए मधेश केन्द्रित दल जोडजाड गरेर चुनावमा जानु लोसपाको बाध्यता हो ।

२०४७ सालमा गजेन्द्रनारायण सिंहले नेपाल सदभावना पार्टी गठन गरेका थिए । २०६५ सालको मधेश आन्दोलनबाट मधेशी जनअधिकार उदाएपछि तराइ मधेशमा पकड बलियो भयो । तर सत्तामुखी हुँदा टुट्फुट बढ्यो । जनमत पनि कमजोर भयो । मधेशका मुद्दालाई सरकारमा जाने भर्याङ्ग बनाएको आरोप खेप्दा यि दलको पकड कमजोर बन्दै गएको हो ।

संसदीय राजनीतिका खेलाडी मानिने हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी लगायत मधेश केन्द्रित नयाँ र पुराना दल पनि सहयोगीको खोजीमा छन् । कुनै कित्तामा नजोडिए आफ्नो अस्तित्व रक्षा गर्न उनीहरुलाई पनि चुनौति हुने देखिन्छ ।