२६ बैशाख २०८१, बुधबार

सनाखतका लागि बुधवार एकीकृत समाजवादीका सबै नेताहरु आयोग जाने

madhav

नेकपा एकीकृत समाजवादीका सबै केन्द्रीय सदस्यहरु सनाखतका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने भएका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधवार आयोग बोलाएको छ ।

सोमवारदेखि काठमाडौंको चन्द्रागिरीमा आवासीय छलफलमा जुटेका एकीकृत समाजवादीका नेताहरु उतैबाट सनाखतका लागि आयोग जाने नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बुधवार विहान ११:३० देखि दिउँसो २:०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।

आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

यसैबीच बुधवार दल दर्ताको निवेदनमा हस्ताक्षर छुटेका नेताहरु समेत निर्वाचन आयोगमा जाने अर्का नेता डा विजयकुमार पौडेलले बताउनुभयो । दल दर्ताको निवेदनमा हस्ताक्षर छुटाएका ७ नेता सशरीर आयोगमा उपस्थित भए सनाखत हुने आयोगले जनकारी गराएको पनि उहाँले बताउनुभयो ।

निवेदनमा पेश भएका ५८ जनामध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको हस्ताक्षर छुटेको थियो । बुधबार आयोगमा सनाखतका लागि उहाँहरु पनि उपस्थित हुने बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताउनु भएको छ ।

मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनु भएको हो । आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफूहरुसँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।

एकताका लागि ओलीसमूहसँंग छलफलमा जुटिरहेको समुहले एकता अझै सम्भव भएको बताएपनि अब नयाँ पार्टी दर्तालाई कसैले रोक्न नसक्ने उहाँको भनाई थियो ।