१४ बैशाख २०८१, शुक्रबार

अवैध लागूऔषध सहित ९ जना पक्राउ

arest

कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँ बाह्रसिङगे चौराहबाट करिब २.०६ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय उमेश ठगुन्नालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही, मायादेवी गाउँपालिका-८ पानी ट्याङ्की स्थितबाट करिब ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-८ लखनचोक बस्ने २५ बर्षीय अफताव खान र गुल्मी रुरु गाउँपालिका-२ बस्ने २५ बर्षीया लक्ष्मी कुवंर रहेका छन् । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१० स्थित ड्रिमल्याण्ड होटलको ३६ नम्बरको कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-३ बस्ने २४ बर्षीय मो.नुरदिन र सप्तरी राजविराज नगरपालिका-११ बस्ने ३० बर्षीय वर्मदेव चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाङ्गे नडाह सडक खण्डबाट ७ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईन सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ बस्ने पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही नगरपालिका-९ बस्ने २८ वर्षीय पाथे चन्द्रबंशी र सोही ठाउँ बस्ने २८ वर्षीय जयन्त माईला रहेका छन् ।

बाङ्गेबाट नडाहतर्फ जाँदै गरेको प्र १-०२-०४४ प ४५५६ र प्र १-०२-०४२ प ४२२९ नम्बरको मोटरसाइकललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बिशेष ब्यूरो र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।