१५ बैशाख २०८१, शनिबार

सेना हुन नसकेका कुँवरलाई प्रहरी नेतृत्व

Basanta Kunwar IGP 21679813454

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे। जसका लागि उनले ‘सेकेन्ड लेफ्टिनेन्ट’मा आवेदन समेत दिएका थिए। प्रारम्भिक परीक्षामा उत्तीर्ण हुँदै गएका उनी अन्तिममा पुगेर अन्तर्वार्तामा फालिए। ‘बाल्यकालदेखि नै फौजकै जागिर खाने चाहना थियो। पहिलो रोजाइ सेना थियो,’ आइजिपी कुँवर भन्छन्, ‘पहिलो प्रयास सफल हुन सकेन। त्यसपछि प्रहरीमा इन्स्पेक्टरमा आवेदन खुलेको थाहा पाएँ, दिएँ पनि। प्रहरीमा पहिलो प्रयासमै सफल भएँ।’

यसरी इन्स्पेक्टरमा भर्ना भएको २८ वर्ष सात दिनपछि उनी नेपाल प्रहरीको ‘कमान्ड’ सम्हाल्न सफल भएका छन्। भर्ना हुँदा कुँवरले प्रहरीको शीर्ष नेतृत्वमा पुगिन्छ भन्ने सोचेकै थिएनन्। ‘फौजमा जागिर खानु थियो, खाइयो। त्यतिबेला यतिसम्म सोच आउने कुरै थिएन,’ उनी भन्छन्।

नौ महिनाअघि गत असारमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)हुँदा पनि आइजिपी कुँवरलाई प्रहरी कमान्ड सम्हाल्न पाउने अपेक्षा कमै थियो। उनी शीर्ष तीनभित्र परेर बढुवा हुन पाए खुसी हुने अवस्थामा रहेको निकटस्थहरू बताउँछन्। तर उनी तीनमा होइन, पहिलो नम्बरमै बढुवा भए। त्यसअघि भर्ना भएको १२ वर्षपछि २०६३ भदौ ८ गते उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुँदा छैटौं, २०७१ फागुन १० मा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुँदा पाँचौं र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदा १३औं नम्बरमा थिए। यसैले पनि एक नम्बरमा बढुवा भइन्छ भन्ने विश्वास उनमा कमै थियो। तर निवर्तमान आइजिपी धीरजप्रताप सिंहको जोडबलका कारण उनी पहिलो नम्बरमा बढुवा भएको जानकार स्रोत बताउँछ।

पहिलो नम्बरमै डिआइजीमा बढुवा भएर ‘सरप्राइज’ पाएका कुँवरलाई उतिबेलैदेखि आइजिपीका रूपमा हेर्न थालिएको थियो। तर उनी आफैं भने त्यसमा ढुक्क थिएनन्। आइजिपी नियुक्तिका लागि शक्ति केन्द्रबीच माथापच्ची हुँदै आएको अवस्थामा राजनीतिक दलसँग निश्चित दूरीमा रहेका कुँवर आफैं संशयमा रहेको निकट स्रोत बताउँछ। यद्यपि कुँवर आफैं नेपाली कांग्रेससँग निकट मानिए पनि कांग्रेसकै शीर्ष नेतृत्वको पहिलो रोजाइमा भने उनी थिएनन्। नागरिक दैनिकबाट