१४ बैशाख २०८१, शुक्रबार

सडक मिचेर बनाइएका संरचना आफैँ हटाउन प्रहरीलाई मेयर बालेन्द्रको आग्रह

bit

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन आग्रह गरेका छन् ।

शनिबार फेसबुकमार्फत उनले प्रहरीले बाटो मिचेर संरचना बनाउनु गलत भएको जनाउँदै ती संरचना प्रहरी आफैँले हटाउन आग्रह गरेका हुन् ।

महानगरपालिका क्षेत्रभित्र पर्ने सडकपेटी तथा सडक मिचेर प्रहरीले बनाएका संरचना आफैँ नहटाए महानगरले हटाउन बाध्य हुनले उनले उल्लेख गरेका छन् ।

‘फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

उनले महानगर क्षेत्रभित्र सडकपेटी र सडकको पिचमा रहेका प्रहरी बिटहरुको तस्बिरसहित विवरणसमेत सार्वजनिक गरेका छन् । यसरी सडक मिचेर बनाइएका संरचनाहरुमा कामपा–४ बालुवाटार प्रधानमन्त्री निवास अगाडिको प्रहरी बिट, कामपा–२६ सामाखुशी खोलामाथि ढलान गरेको स्थानमा रहेको प्रहरी बिट, कामपा–३२ जडिबुटी चोकमा रहेको प्रहरी बिट, कामपा–९ सिनामंगल चोकको प्रहरी बिट, कामपा–६ चुच्चेपाटीमा रहेको प्रहरी बिट, कामपा–१७ ढल्कोमा रहेको प्रहरी बिट, कामपा–१८ ताम्सीपाखामा रहेको प्रहरी बिट, कामपा–२९ रुद्रमतीमार्ग मैतिदेवीमा रहेको प्रहरी बिट, कामपा–२७ असनचोकमा रहेको प्रहरी बिट, कामपा–२२ न्यूरोड पिपलबोटमा रहेको प्रहरी बिट, कामपा–२० चिकमंगलमा रहेको प्रहरी बिट छन् ।

यस्तै, कामपा–१७ धोवी चौरमा रहेको प्रहरी बिट, कामपा–३१ देउराली क्लब प्रहरी बिट, कामपा–७ रातोपुलको प्रहरी बिट, कामपा–६ बौद्ध प्रहरी वृत्त अगाडिको प्रहरी बिट, कामपा–१३ ताहाचलमा रहेको प्रहरी बिट, कामपा–३२ पेप्सीकोला चोकमा रहेको प्रहरी बिट, कामपा–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको ट्राफिक प्रहरी बिट, कामपा–१६ माछापोखरीमा रहेको प्रहरी बिट हटाउन मेयर बालेन्द्रले आग्रह गरेका छन् ।

साथै मेयर बालेन्द्रले राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको जनाएका छन् ।

उनले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न सबै तयार हुनु पर्ने उल्लेख गर्दै तयार बनौँ पनि भनेका छन् ।

उनी लेख्छन्, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

https://www.facebook.com/balenOfficial/posts/783455196480071