११ बैशाख २०८१, मंगलवार

मेयर बालेनलाई राजीनामा दिन कसले दियो दवाब

balen
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजीनामाको दबाब आएको जानकारी दिएका छन् ।

शनिबार सामाजिक सन्जाल फेसबुकमार्फत् शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको भन्दै यो देश नबनिने उल्लेख गरेका छन् ।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले कसले र के कारणले राजीनामा दिन दबाब दिएको भन्नेबारेमा भने केही खुलाएका छैनन् ।

मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख भएर नेतृत्व सम्हालेको ११ महिना भएको छ । यस बीचमा उनको जति प्रशंसा भयो, आलोचना पनि उत्ति नै भइरहेको छ । उनको कार्यशैलीप्रति समर्थन र विरोध गर्ने दुवै किसिमको जमात छ । तर, उनको कार्यशैलीमाथि भने प्रश्न उठ्दै आएको छ ।

उनी बैशाख ३० मा काठमाडौं महानगरपालिकाको प्रमुख निर्वाचित भएका थिए ।

जेठ १६ गते शपथ लिएर त्यसै दिन कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर महानगरपालिकाको काम पारदर्शी बनाउने बताएका शाहको छवि कार्यकालको ११ महिनासम्म आइपुग्दा पुराना नेताहरूको भन्दा पनि अपारदर्शी देखिन थालेको आरोप लाग्दै आएको छ ।

महानगरका वडा सदस्यहरुले नै कार्यशैलीप्रति प्रश्न उठाउँदै उनको आलोचना गर्दै आएका छन् । उनको लोकप्रियता घट्दै गएको अवस्थामा उनले शनिबार राजीनामाको दबाब आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।