१३ बैशाख २०८१, बिहीबार

अर्जेन्टिनी फरवार्ड मेस्सी फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित, ३० नम्बरको जर्सी लगाउने

messi

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् । मेस्सीले क्याटलान क्लबका लागि कुल ३५ उपाधि ट्रफी जितेका छन् ।