४ बैशाख २०८१, मंगलवार

एमालेको ओरालो यात्रा जारी, कांग्रेस र माओवादीलाई फलिफाप

प्रतिनिधिसभा विघटन निर्वाचनको मिति तय
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको बहिर्गमगनसँगै पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ अर्को धक्का लागेको छ ।

आफै बाध्य भएर प्रधानमन्त्री छोड्नु परेका ओलीले यसअघि गण्डकीमा पनि सरकार गुमाउनु परेको थियो । पार्टीभित्रको विवादले ओलीको ओरालो यात्रा अझै बढ्ने देखिएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि वाम गठबन्धनको यात्रा उकालो लाग्यो । सबैतिर सफलता प्राप्त भयो । २०७४ सालमा भएको निर्वाचनबाट संघ र प्रदेशमा तत्कालिन नेकपाको वर्चस्व स्थापित भयो ।

प्रतिनिधिसभामा झण्डै दुइतिहाइ मतसहित केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । ७ मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार बन्यो । ति मध्ये ४ वटामा तत्कालिन एमाले र २ वटामा माओवादीबाट मुख्यमन्त्री बने । तर अहिले अवस्था फेरिएको छ । नेकपा विभाजित भएपछि शुरु भएको एमालेको ओरालो यात्रा अझै रोकिएको छैन । एमालेले जे नहोस भन्ने चाहन्छ अहिले त्यही भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पद गएको छ । गण्डकी प्रदेशबाट एमालेका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ हटिसक्नुभएको छ । यही सिलसिलामा ओलीका दाहिने हात मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पनि वहिर्गमन भएको छ ।

अर्कातिर नेपाली कांग्रेस र माओवादीलाई भने संसदीय राजनीतिमा सफलतै सफलता प्राप्त भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । गण्डकी सरकारको नेतृत्व पनि कांग्रेसले पाएको छ । लुम्बिनीमा पनि ८ महिनापछि मुख्यमन्त्री पाउने सहमति भएको छ ।

माओवादीलाई त झन फलिफाप नै भएको छ । उसका दुई प्रदेशमा सरकार जोगिएको मात्रै छैनन्। अर्को प्रदेशको नेतृत्व पनि पाएको छ । तीनवटा मुख्यमन्त्री उसको पोल्टामा परेको छ । माओवादी संघीय सरकारको प्रमुख घटक पनि बनेको छ ।

संसदीय गणितमा सबैभन्दा ठुलो दल भएर पनि एमालेको भागमा भने निराशा नै निराशा छ । उसले संघीय सरकारसँगै दुईवटा प्रदेशका मुख्यमन्त्री गुमाइसकेको छ । हटाउन चाहेका सुदूरपश्चिम र कर्णाली सरकार झन बलियो बनेका छन् ।

असन्तुष्ट समूहलाई मिलाउन नसके बागमती र प्रदेश एकमा पनि मुख्यमन्त्री फुत्कन सक्ने अवस्था छ । त्यति मात्रै होइन एमालेलाई यसबीचमा भएका निर्वाचनमा पनि ठुलो धक्का लागेको छ ।

जेठ १७ गते लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचमा एमालेलाई हराएर कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित हुनुभयो । जेठ ६ गते बागमतीमा भएको राष्ट्रियसभा निर्वाचनमा पनि एमाले उम्मेद्वार तत्कालिन गृहमन्त्री रामबहादुर थापा पराजित हुनुभयो भने नेपाल–खनाल समूहका खिमलाल देवकोटा स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी हुनुभयो ।

एमाले अध्यक्ष ओलीले तत्कालिन नेकपालाई एक राख्न सक्नुभएन । संविधान नै ध्वस्त पार्ने उद्देश्यसहित अघि बढेपछि उहाँको ओरालो यात्रा शुरु भयो । अदालतले एमाले र माओवादी व्युँताइदिए पछि पनि उहाँलाई केही अवसर बाँकी थियो । तर पार्टीको एकता पनि बचाउन सक्नुभएन ।

त्यसैले नेपाल खनाल समूहले अन्य दलसँग मिलेर झट्का दिइरह्यो । शंकर पोखरेल ओलीका दाहिने हात मानिनुहुन्थ्यो । उहाँको वहिर्गमनले ओलीलाई अर्को धक्का पुगेको छ । यसरी हरेक पाइलामा असफल भए पनि ओलीले आफ्नो विगत नियाल्ने र गम्भीर समीक्षा गर्ने प्रयास गर्नुभएको छैन ।

बरु उहाँको अहंकार अहिले पनि उस्तै देखिन्छ । चाहे त्यो देउवा, प्रचण्ड वा माधव नेपालविरुद्ध नै किन नहुन उहाँका छुराजस्ता अभिव्यक्ति कायमै छन् । नेपाल–खनाल समूहलाई मिलाउन नसके एमालेको ओरालो यात्राको सिलसिला जारी रहने र प्रदेश एक र बागमतीको मुख्यमन्त्री पनि फुत्कने निश्चित छ ।