१७ बैशाख २०८१, सोमबार

विधान महाधिवेशनको तयारीमा एमाले, पार्टीको नियमित काम नरोकिने

Uml New office 1024x538 1

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले पार्टीको नियमित गतिविधि नरोक्ने बताएको छ । आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने घोषणा गरेको एमालेले त्यसका लागि सुझाव संकलनको काम शुरु गरेको छ । शुक्रबार स्थायी कमिटीका नेताहरुसँग विधान संशोधन मस्यौदा कार्यदलले सुझाव संकलन गरेको थियो ।

एमालेले संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । गत आइतबार बसेको बैठकले सो कार्यदल गठन गरेको थियो । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार शुक्रबार बैठकमा नेताहरुबाट आएको सुझावलाई दस्तावेजीकरण गर्ने काम भइरहेको बताउनुभयो । थप सुझाव लिने र मस्यौताको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बैठकले विधान संशोधन तथा पार्टीको अन्य गतिविधिका काम तत्काललाई स्थगन गरी पार्टी एकताको पक्षमा गृहकार्यका लागि आग्रह गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको पार्टीको नियमित कामकाज अघि बढाउने र एकता प्रक्रिया पनि सामानान्तर ढङ्गले अघि बढाउने निर्देशनअनुरुप काम अघि बढिरहेको कार्यालय सचिव तामाङले बताउनुभयो ।

पार्टी एकताका लागि नेतृत्व तहदेखि नेताहरु सबै सकारात्मक रहनुभएको तर पार्टीको नियमित कामकाज रोक्न नसकिने उहाँले बताउनुभयो । पार्टीको नियमित काम रोकिदा पार्टीको जीवनमा नकारात्मक असर पुग्ने भन्नुहुँदै नेता तामाङले पार्टीका सबै कामहरु स्वभाविक प्रक्रियाअनुसार नै अघि बढिरहेको बताउनुभयो ।

एमालेले गत आइतबारको बैठकले विधान महाधिवेशनमा पेश गर्न अध्यक्ष ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदल, संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

त्यस्तै, नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको थियो । सो कार्यदललाई अनुमोदन गर्न भोली आइतबार एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । विहान ११ बजेकालागि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्ने नेता तामाङ्ले बताउनुभयो ।