प्रधानमन्त्रीदाहालको राजीनामा माग गर्दै एमालेद्वारा चौथोपटक राष्ट्रियसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आइतबार चौथोपटक राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । आइतबारै प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा संसद्को अवरोध हटाउने विषयमा सहमति जुटेको छ ।
तीन नेताबीचको सहमतिसँगै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै आएको नेकपा एमाले पछि हटेको छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने तीन नेताबीच सहमति जुटेको थियो । तर राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद् अवरुद्ध पार्ने काम नरोक्ने अडान लिएपछि चौथोपटक स्थगित भएको हो ।
बैठकमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राखिन् । उनले प्रधानमन्त्री दाहाल संसद्मा आएर सो विषयको स्पष्टीकरण दिन लायकसमेत नरहेको जिकिर गरिन् । सांसद न्यौपानेले ‘नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्ने गरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नुभएको हो ?’ भनेर प्रश्नसमेत गरिन् ।
सांसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि पनि पटकपटक राष्ट्रघाती काम गरेको उल्लेख गर्दै अब सैह्य नहुने चेतावनी दिइन् ।
प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको थियो । तर आज दाहाल, ओली र देउवाबीचको भेटले सदनको अवरोध हटाउनेमा सहमति जुटेको हो ।
प्रधानमन्त्री दाहालले केही दिनअघि एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक-पटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिपछि दाहालले प्रधानमन्त्रीको पदमा रहिरहने नैतिक आधार गुमाएको एमालेको निष्कर्ष छ ।