३१ बैशाख २०८१, सोमबार

संसद् अवरोध गर्दै आएको एमाले पछि हट्यो, संसद् खोल्न सहमत

oli prachand deub

प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै आएको नेकपा एमाले पछि हटेको छ । सिंहदरबार आइतबार प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलपछि संसद्‌को अवरोध हटाउन एमाले तयार भएको हो ।

दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने तीन नेताबीच सहमति जुटेको थियो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने तय गरिएको बैठक सभामुख देवराज घिमिरेले २ घण्टापछि सारेका छन् । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको विरोधमा गत मंगलबारदेखि संसद्‌मा अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको थियो । तर आज दाहाल, ओली र देउवाबीचको भेटले सदनको अवरोध हटाउनेमा सहमति जुटेको हो ।

प्रधानमन्त्री दाहालले केही दिनअघि एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक-पटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिपछि दाहालले प्रधानमन्त्रीको पदमा रहिरहने नैतिक आधार गुमाएको एमालेको निष्कर्ष छ ।