१७ बैशाख २०८१, सोमबार

कामपाको मेयर र उपमेयरको कार्यकक्ष भएन अझै तयार, कार्यालय सार्न नसकेपछि ‘पोको’ पार्दै राख्दै

sunita balen
फाइल फोटो

काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको सामान काठमाडौं प्लाजाको एक कुनामा पोको पारेर राख्ने भएको छ । असारभित्र पनि काठमाडौं प्लाजामा कार्यालय स्थानान्तरण हुन नसकेपछि प्लाजाको एक कुनामा सामान पोका पारेर राख्न लागिएको हो ।

हाल दुई पदाधिकारीको कार्यालय सुन्धारास्थित जेडिए भवनमा छ । सो भवन असार मसान्तभित्र खाली गर्नुपर्ने भएकोले केही महिनाको लागि मेयर साह र उपमेयर डंगोलको कार्यालयको सामान जेडीएबाट खाली गरी नयाँ भवन काठमाडौं प्लाजास्थित मुख्यालयमा लैजान लागिएको महानगरका एक कर्मचारीले बताए । उनका अनुसार हतारमा कार्यालय सार्न लागेको परिणामको कारण मेयर र उपमेयर कार्यालय विहीनजस्तै भएका छन् ।

उनका अनुसार मेयर र उपमेयरले केही महिनाको लागि राष्ट्रिय सभागृहबाट काम शुरू गर्ने तयारी गरेका छन् । मेयर साह अधिकांश समय सभागृहमा रहेको कार्यालयमा बस्दै आएका थिए भने उपमेयर डंगोल जेडीए भवनबाटै काम गरिरहेकी थिइन् । कामपा कानुन विभाग प्रमुख वसन्त आचार्यलगायत केही कर्मचारीले तयार नभएको भवन हतारमा भाडामा लिने सम्झौता गर्दा समस्या बढेको हो ।

साउनदेखि मेयरको सचिवालय हाल राष्ट्रिय सभाको जिन्सी शाखामा बस्नेछ भने उपमेयरको सचिवालय कहाँ स्थानान्तरण गर्ने भन्ने विषय टुंगो लागेको छैन । कामपाका मेयर र उपमेयर आफ्नो कार्यालयमा नसर्दै नेपाल ट्रस्टले करिब २ करोड ५० लाख रुपैयाँ भाडा लिने भएको छ ।

मेयर र उममेयर मात्र होइन हाल सम्पदा, राजस्व र सार्वजनिक निर्माण विभागसमेत काठमाडौं प्लाजामा सर्न सकेको छैन । नेपाल ट्रस्ट कार्यालयले मुक्तिनाथ विकास बैंक, राजघराना र निरमायमा दोहोरी साँझ हटाउन नसक्दा कामपालाई जटिल समस्या परेको छ । यी तीनैवटाले सजावट गरिएका सामग्री, फर्निचरलगायतका सामग्री खरिद गर्न कामपालाई आग्रह गरिरहेको छ । तर, कामपाले ती फर्निचर तथा सामग्रीहरूको विषयमा निर्णय लिन सकेको छैन ।

कामपाको तीन विभाग मात्र होइन, मुख्य योजना निर्माण गरी कार्यान्वयन गर्ने निकाय सहरी योजना आयोगसमेत उक्त भवनमा स्थानान्तरण हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित समाचार...