६ जेष्ठ २०८१, आईतवार

दशबुँदे सहमतिमा टेकेर पार्टी एकताका लागि जोड गर्ने एमाले नेपाल–खनाल समूहको निर्णय

madhav jhalanath
फाइल फोटो

नेकपा एमालेको नेपाल–खनाल समूहले कार्यदलको १० बुँदे प्रस्तावमा टेकेर पार्टी एकताको प्रयास गर्ने निर्णय गरेको छ ।

काठमाडौंको बुद्धनगरमा बसेको नेपाल खनाल समूहको केन्द्रीय कमिटी बैठकले शीर्षस्थ नेतालाई आरोप प्रत्यारोप बन्द गर्न पनि भनेको छ ।

सहभागी सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि बैठकले एकताकै लागि जोड गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । बैठकको समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको थियो ।

बैठकले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेको छ । यस्तै नेपाल खनाल समूहले सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन गर्ने जस्ता एकपक्षीय गतिविधि रोक्न संस्थापन पक्षलाई आग्रह गरेको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यले सम्मानजक रुपमा एकता हुनुपर्ने बताएका थिए । कतिपय सदस्यले भने एकता अघि अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्तीका लागि माफि माग्नुपर्ने बताएका थिए ।

हिजोदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ३(३ मिनेटको समय निर्धारण गरिएको थियो । धेरै सदस्यको जोड पार्टी एकताकै पक्षमा देखिएको छ ।

उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल विश्वास गर्न नसकिने भन्दै त्यसप्रति नेतृत्व सचेत बन्नुपर्ने सुझाव पनि दिएका छन् ।