१४ बैशाख २०८१, शुक्रबार

अबको केही दिन साउने झरी दर्कने

mausam rain

अबको केही दिन साउने झरी दर्कने भएको छ । आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् निराजन सापकोटाका अनुसार देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अर्काे तीन–चार दिन घाम पानीसँगै साउने झरीको अवस्था रहनेछ । ” मनसुनी वायु पूर्वी भेगबाट नेपाल भित्रने भएकाले पूर्वी र मध्य भेगमा वर्षाको क्रम पश्चिमको तुलनामा बढी भएको अनुमान गरिएको छ तर पश्चिम भेगमा भने हालसम्म २५ प्रतिशत पनि वर्षा हुन नसकेको उहाँले बताउनुभयो । अबको चार दिनको वर्षा सुदूरपश्चिम र कर्णाली केन्द्रित हुने भएकाले महाकाली र कर्णाली नदीसहित यसका सहायक नदीमा बाढीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम केन्द्रित भए पनि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि तीन–चार दिन साउने झरी पर्ने सम्भावना औँल्याइएको छ ।

बूढीगङ्गा थुनिएपछि

मङ्गलबार रातिदेखिको अविरल वर्षाका कारण बाजुराको गौमूल गाउँपालिका हुँदै बग्ने बूढीगङ्गा नदी केही घण्टा थुनिएको छ । गाउँपालिकाका वडाध्यक्ष चक्रबहादुर बोहराका अनुसार बेला बेला पहाडमा जाने पहिरोका कारण बूढीगङ्गा नदी थुनिने र आफँै खुल्ने क्रम जारी रहेको छ । सोहीअनुसार बुधबार थुनिएको बूढीगङ्गा नदी आफैँ खुलेको छ ।

नदी खुलेसँगै बढेको बहावले एउटा जलविद्युत् आयोजना र त्योसँगै बनेको सिँचाइको नहर बगाएको बोहरालाई उद्धृत गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो । साथै बाढीको बहावका कारण स्थानीय स्तरमा खुलेको लोक्ता उद्योग र अर्को एउटा जडीबुटी प्रशोधन केन्द्र बगाएको उहाँले बताउनुभयो ।

नदी थुनिएपछिको अवस्था अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको टोली बिहानै त्यसतर्फ गएको छ । त्यस स्थानमा पुग्न ६ घण्टा बढी समय लाग्छ । जसका कारण बिहान गएको टोली अपराह्नमात्र गाउँ पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बूढीगङ्गा थुनिने र खुल्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बस्ती जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।