११ बैशाख २०८१, मंगलवार

काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, क्रियाशील सदस्यताकाे विषयमा छलफल हुने

congress 750x375 1

सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज विहिबार बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसले जनाएको छ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको उहाँको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा चौधौं महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो । सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको स्वकीय सचिव देउवाले जानकारी दिनुभयो ।

काँग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्दै आएको छ ।

काँग्रेसको बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लाको क्रियाशील सदस्यताबारे विवाद छ । नेता लेखक नेतृत्वको कार्यदलले हिजो बुधबार सभापति देउवा समक्ष प्रतिवेदन बुझाए पनि सदस्यता टुङ्गो लगाउने प्रयास स्वरुप एक दिनको समय थप गरेको थियो । आजको बैठकमाा प्रतिवेदन पुनः कार्यदलले बुझाउनेछ ।