चिसो बढ्यो मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकामा, न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस
मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
पछिल्ला दिनमा तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।
मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू(भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो ।
नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौंबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सफा रहेको छ ।
दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । मंगलवार काठमाडौंको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।