८ बैशाख २०८१, शनिबार

बूढीगङ्गा थुनिएपछि

Budiganga River

मङ्गलबार रातिदेखिको अविरल वर्षाका कारण बाजुराको गौमूल गाउँपालिका हुँदै बग्ने बूढीगङ्गा नदी केही घण्टा थुनिएको छ । गाउँपालिकाका वडाध्यक्ष चक्रबहादुर बोहराका अनुसार बेला बेला पहाडमा जाने पहिरोका कारण बूढीगङ्गा नदी थुनिने र आफँै खुल्ने क्रम जारी रहेको छ । सोहीअनुसार बुधबार थुनिएको बूढीगङ्गा नदी आफैँ खुलेको छ ।

नदी खुलेसँगै बढेको बहावले एउटा जलविद्युत् आयोजना र त्योसँगै बनेको सिँचाइको नहर बगाएको बोहरालाई उद्धृत गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो । साथै बाढीको बहावका कारण स्थानीय स्तरमा खुलेको लोक्ता उद्योग र अर्को एउटा जडीबुटी प्रशोधन केन्द्र बगाएको उहाँले बताउनुभयो ।

नदी थुनिएपछिको अवस्था अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको टोली बिहानै त्यसतर्फ गएको छ । त्यस स्थानमा पुग्न ६ घण्टा बढी समय लाग्छ । जसका कारण बिहान गएको टोली अपराह्नमात्र गाउँ पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बूढीगङ्गा थुनिने र खुल्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बस्ती जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।