१४ बैशाख २०८१, शुक्रबार

नदीमा पानीको सतह बढ्दा पर्साका गाउँ डुबानमा

parsa badi

विगत केही दिनदेखिको लगातार वर्षाका कारण पर्सा जिल्लाको ग्रामीण भाग सहित सदरमुकाम वीरगञ्जका कयौँ क्षेत्र डुबानमा परेका छन् । वर्षाको कारण जिल्लाको ग्रामीण भेगमा रहेका दर्जनभन्दा बढी गाउँ डुबानमा परिसकेका छन् भने श्रीसिया खोलामा आएको बाढीले वीरगञ्ज महानगरका थुप्रै वडा डुबानमा परेका छन् ।

निरन्तरको वर्षाले श्रीसिया खोलामा बुधवारदेखि पानीको सतह बढेर वडा नं १, २, १०, ११, १३, २२, २५ वडाका छपकैया, आदर्शनगर, रानीघाट, श्रीपुर, अशोकवाटिका, नयाँबस्ती, राधेमाई टोलका केही बस्ती डुबानमा परेका छन् । पानीको बहाव बढेर अशोकवाटिकाबाट ज्योतिनगर जाने पक्की पुलसम्म पानी बढेको जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँले श्रीसियामा हिजोदेखि पानीको बहाव बढेको र पुललाई क्षति नहोस् भनेर सतर्कता अपनाइएको जानकारी दिनुभयो ।

त्यस्तैगरी ओरिया नदीमा आएको बाढीले छिपहरमाई, पकाहामैनपुर गाउँपालिकामा समेत ठूलो क्षति गरेको छ । छिपहरमाई गापाको भिस्वा, जयमङ्गलापुर, भिस्वा–सबैठवा, भिस्वा–टिउकी जाने सडकखण्डमा कतै डुबान छ र कतिपय ठाउँमा कटान भएकाले सडक सम्पर्क विच्छेद हुन पुगेको छ ।
त्यस्तैगरी पकाहामैनपुर गाउपालिकाको धोबियाटोल, खेस्राहा, सबैठवा क्षेत्रमा वर्षाले डुबान गराउँदा धानबालीलाई ठूलो क्षति पुगेको छ । भर्खरै रोपाइँ गरेको सयौं बिघा खेत डुबानमा परेको छ । सम्भौता, भिस्वा, तुलसीबर्वामा खेत जलमग्न भएकाले बाढीको पानी गाउँ पस्ने खतरा बढेको छ । सीमावर्ती भारतको सिकटामा रहेको एसएसबीको क्याम्प डुबानमा परेपछि त्यहाँका सामानलाई एसएसबीले अन्यत्र सुरक्षित स्थानमा सारेको छ । ओरिया खोलाको कारण कालिकामाई गाऊपालिका वडा नम्बर ५ सिमरटोलामा भर्खरै बनाइएको ढलान सडकलाई क्षति पुगेको छ । भर्खरै सम्पन्न ढलान सडकको एक ठाउँमा बीच भाग नै कटान भएपछि बाटोमा आवतजावत ठप्प छ ।

त्यस्तैगरी पोखरिया नगरपालिकाको वडा नं ३ , ८, ९, १० मा धुतहा खोलाको बाढीले अधिकांश डुबानमा पारेको छ । त्यस्तैगरी जगरनाथपुर गाउपालिकाको सुपुर क्षेत्र पूर्ण डुबानमा छ । त्यसक्षेत्रमा खोलाले सडक कटान गरेपछि झोलुङ्गे पुल जाने बाटो अवरुद्ध छ । सिकटा नदीको बाढीले मधुवाहा, झकरा मसिहानीका खेत र बस्ती डुबानमा परेका छन् । विन्ध्यवासिनी गाउँपालिका वडा नम्बर ५ रामनगरी, गर्दौल अन्तर्गतको उत्तरतर्फ डुबान छ । ढङ्गरी खोलामा आएको बाढीले सो क्षेत्रमा डुबान भएको हो । जानकीटोला क्षेत्रमा ओरिया खोलामा पानीको सतह बढेर दसौता गाउँ डुबानमा परेको छ । पर्साकै मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, सबैठवा, धोरे, हस्वा, प्रसौनीभाटा, अमरपट्टि लगायतका अधिकांश गाउँका घरहरुमा पानी पसेको स्थानीयले बताएका छन् ।

त्यस्तैगरी ठोरी गाउँपालिका वडा नम्बर ३ को ब्रम्हानगर र नयाँबस्तीमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घर डुबानमा परेका छन् भने वडा नम्बर ४ को निर्मलबस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, विजयबस्ती, विशालचोक, ट्याङ्गेलाइन लगायतका ठाउँका अधिकांश घरहरु समेत डुबानमा परेका छन् । हुलाकी सडक र सडक किनारको नाला अग्लो बनाइएको र पानी निकासका लागि कल्भर्ट निर्माण नगरिएकाले धेरै घर डुबानमा परेको बताइएको छ । वर्षापछि खोलामा आएको बाढीले खानेपानीको मुहानको पाइप बगाएपछि ठोरी गाउँपालिकाको वडा नम्बर ३ को बुद्धनगर र तल्लो रामनगरमा खानेपानी अभाव भएको छ । ओरिया खोलामा आएको बाढीले भर्खरै निमार्ण भएको हुलाकी सडकको ठोरी गाउँपालिकाको वडा नम्बर ४ को गोपीबस्तीमा सडक जोगाउन निर्माण गरिएको तटबन्ध बगाएर हुलाकी सडकमा क्षति पु-याएको हो ।