१४ बैशाख २०८१, शुक्रबार

कास्कीमा आजबाट परिवर्तित निषेधाज्ञा लागु

pokhara lockdown
फाइल फोटो

कास्कीमा आजदेखि लागू हुनेगरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै यस अघि लागु गरेको निषेधाज्ञामा केहि परिमार्जन गर्दै थप निषेधाज्ञा लागु गरेको हो ।

हाल जारी गरिएको निषेधाज्ञामा यस अघि जारी गरिएको आदेशको अतिरिक्त बिकास निर्माण जन्य सामाग्रीका पसलहरु बेलुका ५ देखि ७ बजेसम्म खुल्ने भएका छन् । त्यसैगरी यस अघिको समयमा १ घण्टा थप गरी अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि पसलहरु बिहान ५ बजे देखि १० बजेसम्म खुला रहने भएका छन् ।

उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् ।ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।