१६ चैत्र २०८०, शुक्रबार

देशका विभिन्न नदी र खोलामा बाढी: तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

badhi seti river
फाइल फोटो

हिजोदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ । पर्सि बिहीवारसम्म यी नदीहरुका तटीय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ । आज पनि देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यी प्रदेशमा पर्ने नदीमा बाढी पहिरो आउनसक्ने हुँदा सतर्कता अपनाउन विभागको अनुरोध छ ।