१४ बैशाख २०८१, शुक्रबार

विकासको समाचार नछापेर बाँसुरी बजाएको समाचार बनाएकोमा प्रधानमन्त्री ओलीको गुनासो

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले विकास भएको समाचार लेख्ने नगरेको भन्दै गुनासो गर्नुभएको छ ।

सोमबार काठमाडौंको महाराजगञ्ज क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कामको सुरुवात गर्दै उहाँले यस्तो गुनासो गरेका हुन् ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै केही मान्छेलाई भने पिर परेको बताए । उनले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?’ उनले प्रश्न समेत गरे ।

प्रधानमन्त्रीले भने, ‘सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन, बाँसुरी बजाएको फोटो हाल्छन ।’

उनले देशभरका तुइन विस्थापित गर्ने काम भैरहेको भए पनि सञ्चारमाध्यले यसको पनि भ्रम फैलाउने काम गरेको आरोप लगाए । ‘दार्चुला पुगेर दुई वटा तुइनको फोटो खिच्छन्, यिनलाई मान्नैपर्छ’ प्रधानमन्त्रीले भने। सरकारको बिरोध गर्नकै लागि दार्चुला पुगेर तुइनको फोटो खिचेको उनको आरोप थियो ।

केही बुद्धिजीवि र सञ्चारमाध्यमले विकास देख्न नसकेको पनि उनले आरोप लगाए। ‘सरकारको प्रगतिमा किन यति साह्रो पीर गरेको होला ?’ प्रधानमन्त्रीको प्रतिक्रिया थियो ।

उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।