१५ बैशाख २०८१, शनिबार

चितवनमा नेकपाभित्रै झडप, पार्टी कार्यालय तोडफोड

chitwan cpn fight

अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रड प्रहार

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका बिद्यार्थीहरु बीच भएको कुटाकुटले उग्ररुप लिन थालेको छ ।

पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच पटक पटक झडप भएको छ । झडपको पछिल्लो श्रृङ्खलाअन्तर्गत सोमबार पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले पूर्वएमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रडले हानेर घाइते बनाएका छन् ।

उनको चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अखिल क्रान्तिकारी रामपुरका निवर्तमान अध्यक्ष नगेन्द्र दाहाल, अध्यक्ष विवेक पौडेल, सचिव दिनेश पौडेल, पूर्व अध्यक्ष विश्वास अम्गाई, लगाएतको समूहले आक्रमण गरेको पाठकले बताए । उनले क्याम्पसबाट फर्कने क्रममा रड प्रयोग गरेर आक्रमण गरेको बताए दिए ।

जनयुद्ध दिवसका सन्र्दभमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारीका बीच भएको विवादले रामपुरमा पटक–पटक झडपको अवस्था आएको हो ।

गत फागुन २ गते पूर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थी माथि पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरी घाइते बनाएका थिए । उनीहरुको आक्रमणबाट अनेरास्ववियुका सागर काफ्ले, विक्रम केसी, आषिश कार्की, केशवराज काफ्ले लगायतका घाइते भए । सोही दिन साँझ अनेरास्ववियुका विद्यार्थीहरुले अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी माथि आक्रमण गरे । उनीहरुको आक्रमणबाट क्रान्तकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए । एक जनाको हात भाँचिएको छ । घाइते विद्यार्थीहरु चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् । उनीहरुलाई अनेरास्ववियुका विद्यार्थीहरुले रडले आक्रमण गरेका थिए ।

अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भैसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमती हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ । रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेजमा रहेको होष्टेलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् । रामपुरमा विद्यार्थीहरुविच पटक पटक विवाद हुने गरेको छ । अनेरास्ववियुले परीक्षा रोक्न र शैक्षिक बातावरण बनाउन भन्दैं विश्वविद्यालय प्रशासनलाई दवाव दिइरहेको छ । संकायले लिइरहेको परीक्षाा तत्कालका लागि रोकेरसहमतीमा शैक्षिक बातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।

नेकपाको चितवन पार्टी कार्यालयमा तोडफोड

रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

क्रान्तकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकबाट रड प्रहार गरी घाइते बनाएको भन्दैं आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् । पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष विद्यार्थीहरुले तोडेका छन् । पार्टी कार्यालयमा शशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

नेकपा चितवनका कार्यालय सदस्य आरसी अधिकारीले विवाद समाधानका लागि पार्टीले पहल गरिरहेको बताए । तत्कालका लागि समस्याको निकास निकालेर दीर्घकालिन रुपमा समस्याको हल गरिने उनले बताए । तल्लो तहसम्म पार्टी एकता नभएका कारण दुई पार्टीका बीचमा समस्या उत्पन्ने हुँदै आएको उनको धारणा छ ।