२६ बैशाख २०८१, बुधबार

चराले गुँड बनाउन मिल्ने, गुजुल्टिएको तार हटाएर शहर राम्रो पारिन्छ : प्रधानमन्त्री ओली

PM Oli

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् ।

पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले दार्चुलामा बाँकी रहेको दुई वटा तुईनको फोटो देखाउँदै सरकारको आलोचना गरेको बताए । ‘अचम्म लाग्छ, दार्चुलामा दुई वटा तुइन बाँकी छ, त्यही फोटो खिचेर देखाइरहेको छ,’ ओलीले भने, ‘दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको छ । सुशासनको काम, विकासको काम अघि बढाउँदा किन पिर परेको ?,’ उयनले प्रश्न गरे ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।

उनहाँले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गरे । विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने (ब्रेन गेन) अभियान शुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने बताए । यसबाट जनतालाई पनि सहज हुने बताउँदै ओलीले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’