२६ बैशाख २०८१, बुधबार

एमाले ब्युँताएसँगै माधव समूहका करिब ३ दर्जन सांसदको पद धरापमा

Madhav Kumar Nepal
फाइल फोटो

सर्वोच्च अदालतले तत्कालिन एमाले ब्युँताएसँगै माधकुमार नेपाल समूह संकटमा पर्ने देखिएको छ। एमाले ब्युँतिए हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टाढिएको माधव नेपाल समूहसँग दल विभाजन गर्ने गरी संसदीय दलमा सदस्य संख्या अपुग हुने देखिएको छ।

प्रतिनिधिसभामा एमालेको १२० सिट छ। दल विभाजन गर्न माधव नेपाललाई कम्तिमा ४८ सिट आवश्यक पर्छ। तत्कालिन एमालेको केन्द्रीय कमिटीमा भने माधव समूहको ४० प्रतिशत पुग्ने भएकाले एमालेको संसदीय दलमा सो समूहको हालको हवस्थामा ४० प्रतिशत नपुग्ने देखिएको छ।

हालसम्म खुलेर माधव नेपालतर्फ लागेका प्रतिनिधिसभा सदस्यहरुको संख्या मात्र ३३ छ। उता ओलीतर्फ भने स्पष्ट रुपमा ६२ जना खुलेका छन्। तर करिब २५ जनाको अवस्था स्पष्ट छैन। माधव नेपालले यी २५ जनालाई आफूतर्फ तान्न नसके उनले दल विभाजन गर्न पाउने छैनन्।

यस्तो अवस्थामा केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा रहेका ओली उनीहरुमाथि कारबाही गरे माधव नेपाल, झलनाथ खनाललगायत उनीहरुसँग रहेका सांसदहरुको सांसद पद खारेज हुन सक्नेछ। उता एकीकरणपछि प्रतिनिधिसभामा उपनिर्वाचनमार्फत निर्वाचित नेकपा सांसद विद्या भट्टराई र राष्ट्रिय सभामा निर्वाचित रानायणकाजी श्रेष्ठ, वेदुराम भुसाललगायतका सांसदहरु कुन दलको हुने भन्ने अन्यौल भएको छ।